काठमाडौँ- गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता मंसिर २६ गते अर्थात (आजबाट) निष्क्रिय हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले भोलिदेखि आचारसंहिता लागू नरहने निर्णय गरेसँगै निष्क्रिय भएको हो ।
उक्त निर्णयबारे निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी पनि गराएको छ ।
सरकारको गत साउन १९ गतेको निर्णय प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम मंसिर ४ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको थियो ।