काठमाडौं - नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । उहाँको स्थायी घर बिरेन्द्रनगर सुर्खेत हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सिफारिस भएका थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । यस्तै उनी नेपाली कांग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल (सिडेन) का अध्यक्ष पनि हुन्।
कार्यकारी निर्देशक छनोट समितिको बैठकले पहिलो नम्बरमा भिमसेनथापा एक गोरखाका चण्डिकाप्रसाद भट्ट, दोस्रो नम्बरमा आठराइ दुई तेह्रथुमका जीवनप्रकाश सिटौला र तेसो नम्बरमा थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।
सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक हुन् ।
यस्तै दोस्रो नम्बरमा सिफारिस भएका सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभागबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि उनी प्राधिकरणबाटै सहसचिवबाटै अनिवार्य अवकाशमा गएका थिए ।
निगमकाे कार्यकारी निर्देशकका लागि आवेदन दिएका १६ जनामध्ये प्रतिष्पर्धामा सहभागी १५ आवेदकमधै सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको थियो ।