काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहान वर्षा भएको छ । गए रातिदेखि नै वर्षा भएको हो। हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ । देशका अरू भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा छ । वाग्मती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा र मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
लुम्बिनी प्रदेशका केही स्थानहरू र कर्णालीका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।