काठमाडौं - जनता समाजवादी पार्टी(जसपा) को कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य इस्तियाक राइनले रातोपाटीलाई बताए ।
पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा चयन गरेको भन्दै बैठकले उनको पदलाई खारेज गरेको हो । यसअघि अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवबीच भएको छलफलमा पनि राजेन्द्र महतोको सो पदलाई खारेज गर्ने निर्णय भएको थियो । तर अध्यक्ष ठाकुरले अझै त्यसलाई निरन्तरता दिएकोप्रति बैठकमा आपत्ति जनाइएको थियो ।
बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता महतोले पार्टीको निर्णयविपरित काम गरेको कारण स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमलाई समर्थन गर्दै गठन गरिएको कार्यदलमा बसेको कारण लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए । ओलीकौ प्रतिगमन कदम चाल्न साथ दिने जसपा नेपालका सांसदहरुलाई पनि कारवाही गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
आजको बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आपत्ति जनााएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र त्यसलाई आजको बैठकले घोर निन्दा गरेको बताए । प्रधानमन्त्री कदमको विरुद्धमा आज पाँच दलले गरेको निर्णय र जारी गरेको विज्ञप्तिप्रति जसपा नेपालको बैठकले समर्थन जनाएको उनले पनि बताए । प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको कानुनी उपचार खोज्ने तथा संघर्ष गर्ने निर्णय पनि भएको उनले बताए ।
यो बैठक महन्थ ठाकुरको पनि हस्ताक्षरबाट बोलाइएको बताउँदै कार्यकारिणी समितिको आजको बैठक आधिकारिक बैठक भएको यादवले दाबी गरे । ‘बैठकमा आउनलाई सबैलाई खबर पनि गरिएको थियो । तर वहाँहरु नआएपनि बहुमत सदस्यको उपस्थितिमा बैठक सम्पन्न भएको छ,’ उनले भने, ‘पार्टीमा अनुशासनहीन काम गरेकालाई पार्टीको विधान अनुसार कारवाही हुनेछ ।’
हिजै अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर आजको बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । त्यसपछि अध्यक्ष यादवले पनि विज्ञप्ति जारी गरेर बैठक स्थगित नभएको बताएका थिए । आजको बैठकमा अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु उपस्थित थिएनन् ।