काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् ।
कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुरविर परियारले बहस गरेका थिए । त्यसैगरी वादीकै पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता शान्ति काफ्लेले बहस गरेकी थिइन् ।
गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लीग खेल्न जमैकामा पुगेका थिए ।
प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।