काठमाडौं - मुम्बई ईन्डियन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउदै ईलिमिनेटर खेलमा मुम्बई विजयी भएको हो ।
चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो ।
लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलब २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो ।
तेस्रो विकेटका लागि कप्तान कुर्नाल पान्ड्या र मार्कस स्टोयनिसले ४६ रनको साझेदारी गरे ।
दीपक हुडाले १३ बलमा १ छक्काको सहयोगमा १५ रन बनाए । ओपनर कायल मेयर्सले १३ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए ।
लखनउका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दशौं ओभरमा आकाश मधवालले लगातार दुई विकेट लिएसँगै मुम्बई खेलमा हाबी भएको थियो ।
मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट लिए । लखनउका तीन ब्याटर रन आउट भएका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो ।
मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए ।
अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे ।
तेस्रो विकेटका लागि सूर्यकुमार यादव र क्यामरन ग्रीनले ३८ बलमा ६६ रनको साझेदारी गर्दै बलियो योगफलतर्फ मुम्बईलाई लगेका थिए ।
तर, नविन उल हकले ११ औं ओभरमा सूर्य र ग्रीन दुबैलाई आउट गरेपछि लखनउ खेलमा फर्किएको थियो ।
सूर्यले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । सूर्य आउट भएको दुई बलपछि ग्रीन बोल्ड भएपछि मुम्बई दबाबमा परेको थियो । नेहाल वधेराले १२ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाए ।
तिलक बर्माले २२ बलमा २ छक्काको सहयोगमा २६ रन बनाए । टिम डेविडले १३ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए ।
लखनउका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोहसिन खानले एक विकेट आफ्नो नाम गरे ।
ईलिमिनेटर खेलमा लखनउलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । ईलिमिनेटर खेलमा पराजित लखनउ भने यस प्रतियोगिताबाट बाहिरिएको छ ।
मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाईटन्ससँग शुक्रबार खेल्ने छ ।
दोस्रो क्वालिफायर खेल शुक्रबार हुदैछ । गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।
दोस्रो क्वालिफायरको विजेता फाइनलमा स्थान बनाउनेछ । पहिलो क्वालिफायरको विजेता चेन्नाईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
फाइनल खेल आगामी आईतबार अहमदाबादमा हुनेछ ।