काठमाडौँ - नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्।
दाँहिने गोलीगाँठोमा चोट लागेका कारण उनले सिरिज गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। ऐरीले दुई साता आराम गर्नु पर्ने क्यानको भनाइ छ। ओमानमा अभ्यास गर्ने क्रममा ऐरी घाइते भएका थिए। चोटकै कारण उनले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दुई खेलको एकदिवसीय सिरिज गुमाएका थिए। शुक्रबार ओमानमा सकिएको सिरिज नेपालले २-० ले जितेको थियो। नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज भोलि सुरू भएर असोज ४ मा सकिनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।