अहिले देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
भाेलि पनि पहाडी भेगमा आंशिक बदली रही प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।
काठमाडौँको आज बिहानको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंमा ३.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
हिजो बिहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस रहेको थियो । आज दिउँसो काठमाडौँको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ति कँडेल बताउँछिन् । उनका अनुसार आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । यद्यपि, हिजोको तुलनामा केही कम छ । मध्यान्हसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् कँडेलको भनाइ छ । यो वर्ष २.६ डिग्री सेल्सियससम्म तापक्रम झरिसकेको छ ।
बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन थालेको छ । आज उच्च पहाड र हिमाली क्षेत्रका केही भागमा हिमपातको सम्भावना रहेको छ ।