काठमाडौं- नेकपा एमालेकी सांसद थममाया थापाले ६ दिनदेखि अननरत निहारिका राजपूतको माग पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले एउटा बालकलाई दूध चुसाउँदै न्यायको लागि आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो विषय भएको उनले टिप्पणी गरिन् ।
तर, राज्य उनको माग पुरा गर्नुको साटो थाहा नपाए जसरी बसेको उनको भनाइ छ । ‘राज्यले थाहा नपाएजस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ।’ उनले निहारिकालाई नशालु पदार्थ खुवाएर नाबालिग हुँदा बलात्कार भएको बताउँदै थापाले सो क्रममा गर्भ बसेर अहिले बच्चा २१ महिनाको भइसकेको बताइन् । आफ्नो न्यायका लागि निहारिकाले राज्यको सबै तहमा भीख माग्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आमरण अनसन बसेको उनले संसदमा बताइन् ।