कर्णाली - जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरू’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मङ्गलवार जुम्लामा संयुक्तरुपमा उक्त सङ्ग्रहको विमोचन गरेका हुन् ।
उक्त पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समाजको वास्तविक चरित्रलाई शब्द चित्रद्वारा प्रकाशमा ल्याएर गतिलो सन्देश दिएकामा सर्जक बुढालाई धन्यवाद दिए । उनले भने, ‘समाजमा उपलब्ध यस्ता सिर्जना र प्रतिभाको संरक्षण गर्नुपर्छ ।’
लेखिका बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, शहीद परिवार र अपाङ्गताका समस्या र अवस्थालाई शब्दमा उतारेकी छन् ।
पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालविवाह, श्रम, कार्य बोझदेखि समाजमा भएका विकृति, कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्ध सङ्ग्रहमार्फत उजागर गरिएको छ ।
यसअघि बुढाले लेख सङ्ग्रह ‘कर्णालीमा महिला’ भाग-१ र २ प्रकाशन गरिसकेकी छन् । तेस्रो कृति ‘मुक्ति अभियान’ प्रकाशन गरेकी बुढाले निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरू’ चौथो कृतिका रूपमा प्रकाशमा ल्याए । बुढा नेकपा (माओवादी केन्द्र) जुम्लाबाट प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार पनि छन् ।