केही “ राजनीतिक” टिप्पणीहरू ( Some “Political” comments )
एउटा यस्तो समयखण्ड, जहाँ तर्क, ज्ञान, विज्ञान, कला, सङ्गीत, साहित्य, दर्शन क्षयको यात्रामा हिँडिसकेका छन्, – मा हरेक विचार, वक्तव्य, अनि संवेग पनि मात्र राजनीतिक आकार ( अनिच्छाकोे बावजूद ) लिन पुग्दछन्। त्यसकारण म मेराे सोचपत्रकोे शीर्षकमा “ राजनीतिक ” शब्द प्रयोग गर्न अभिशप्त हुनेछु। राजनीति स्वयम मात्र समाजको हर्ताकर्ता मानिने तथाकथित वौद्धिक वर्ग ( वास्तविकतामा बुद्धिजीवी वर्ग ) ले आफ्नो प्रत्येक कोषले स्वीकार गरिसकेको भाषा र शब्दकोश त्यागेर चिन्तन गर्दा मात्र यो सोचपत्रकोे सार महसुस गर्न सकिनेछ।
( १ )
प्रत्येक किशोर राजनीतिप्रेमीहरू वर्तमान व्यवस्थामा केही नयाँ गर्ने उद्देश्यका साथ आउँछन्। उद्देश्यको जरा कति बलियो हुन्छ, त्यो नियाल्नका लागि निश्चित र अपेक्षित नतिजाको पूर्वाभासको साथ धैर्यता राख्नु पर्ने हुन्छ। तर ति किशोरहरूको कमजोर मस्तिष्क, जो छद्मशक्ति ( Pseudo Power) कोे नियन्त्रणमा परिसक्यो, ले नयाँ भन्नाले के बुझ्छ? के नयाँकोे अवधारणा तथाकथित पुरानोसँग समग्र अध्ययन र सचेतन तुलनाविना सम्भव छ? एउटा निश्चित वयमा शरीरमा फैलिने ऊर्जा भन्दा फरक कुन नयाँलाई बोध गर्ने प्रयत्नसम्म गरेका छन्? अन्ततः किशोर राजनीतिक प्राणीहरूकोे नयाँ सृजन गर्ने इच्छा कतै प्राचीनकोे गरिमा , गहनतालाई नयाँ आलोकमा बुझ्ने असमर्थताकोे पूरक त बन्दै छैन?
( २ )
“ नयाँ “ काे अग्रह्या अवधारणा पश्चात् सामर्थ्यले भ्याउँदो क्रियाकलाप सञ्चालन गरिन्छ। तर यो क्रियाकलाप भन्दा अगाडि यो प्रश्न सोचिन अत्यावश्यक छ - यो समय वास्तवमा सोच्ने समय कि गर्ने समय? बिना कुनै हिचकीचाहट हामीले एउटा लामो समय गर्नेहरूलाई सुम्पिएका छौ। समाजमा यतातत धेरै तर्कहरू सुन्न पाइन्छन् कि आजसम्म मानिसहरूको अधिकांश समय बौद्धिक आलापमा व्यतीत भएको छ, तसर्थ अबको समय कार्यक्रमकाे हो। तर यसमा आंशिक सत्य मात्र छ, वार्तालाप मानिसको अभिन्न हिस्सा हो भन्दैमा प्रत्येक वार्तालाप, वजनदार शब्दहरूलाई बौद्धिक आलाप भन्न पाइँदैन। शताब्दी समयहरू हामीले कार्यक्रमलाई दिएका छौ, यसबीचका अधिकांश बौद्धिक भनिएका क्रियाकलापहरू “करियर” को निम्ति गरिएका स्वार्थपूर्ण कार्यहरू थिए। इतिहासको अन्त्यकोे घोषणा गर्नेदेखि लिएर अतिवादी विचारधारा बोक्नेहरूले बौद्धिकताकाे शुद्धतामा फोहोर गरेका छन्। र, हामी सामु “ गर्ने” हरूले गरेका यावत् क्रियाकलापकोे नतिजा र निष्कर्षहामी सामु उपलब्ध छ।
त्यसकारण अहिलेकाे समय वास्तवमै सोच्ने समय हो। प्राचीन मूल्यको पुनर्व्याख्या अनि नयाँ आवरणकोे खोज। साथसाथै आफ्ना विगतका कृत्यहरू पनि।
( ३ )
इतिहासमा कुनै पनि घटनाहरू क्रान्ति ( Revolution ) होइनन्, विकासक्रम ( Evolution ) हुन। यो कथनकोे अर्थ व्यक्तिले क्रान्ति भन्नाले के वोध गर्छ भन्ने कुरामा निर्भर रहन्छ। यदि कुनै पात्र ( जस्तै Leo Tolstoy ले War and Peace मा देखाएका Nepolian र उनका समर्थक, प्रसंशकहरू। ) या निश्चित पात्रलाई समर्थन गर्ने मानव समूह इतिहासका कोशेढुङ्गा भनिने घटनालाई आफ्नो हातबाट सुचरित, सञ्चालित र समापन भएको असत्य विश्वास राख्छ भने इतिहासलाई विशेष चिन्तनकोे साथ नियाल्नु पर्ने हुन्छ किनभने त्यस्ता असत्यकोे दावा गर्ने मानिसहरूले आफ्नो रक्तपातलाई दार्शनिकीकरण गर्नका लागि असत्यको रोमाञ्चक किस्सा उभ्याएका हुन्छन्। त्यस्ता व्यक्तिहरूसंग सार्विक सौन्दर्य ( Universal Beauty ) कोे चेतना, हृदय जित्ने कला अनि उत्साहित गर्ने प्रतिभाको अभाव हुन्छ। अझ, उनीहरू वास्तविक सृजनाको अक्षमतालाई आवृत् गर्नका लागि आलोचनाकोे शरण लिने गर्छन्।
(४)
तथाकथित प्रगतिशीलहरूको सबैभन्दा निन्दनीय सोच भनेको ति व्यक्तिहरूलाई पश्चगामी ठहर्यानुनु हो जो उनीहरूको साँघुरो पर्खाललभित्र हुर्कन अस्वीकार गर्छन्। उनीहरूको यो सोच उनीहरूले अधिकांशत प्रयोग गर्ने “ जातीय ( Racial ) “ भन्दा अलिकति पनि पृथक छैन्। प्रगति शब्दले खास अर्थ के हो? प्राचीन मूल्यहरूको अथक आलोचना मात्र? अझ, तिनै आलोचनाहरूले अनि नयाँ मूल्य प्रदान गर्न नसक्ने अक्षमताले प्राचीन भनिएका मूल्यहरू अधिक व्याख्याका साथ सुदृढ र सान्दर्भिक हुने देखिएका छन्।
(५)
“ नयाँ सोच ”ले ल्याउने भनिएको परिवर्तन कसका लागी? के जसका लागि परिवर्तन गर्ने भनिएकाे छ के तिनीहरु परिवर्तनकोे लागि हरेक आयामबाट तयार छन् ?
के परिवर्तनका नायकहरूले देखेको स्वप्न परिवर्त्तनकाे लागी लक्षितहरुले पनि देखेका छन्? के परिवर्तनका नायकहरू जुन विचार र अनुभवको प्रकाशद्वारा प्रबोधित भएका छन् के त्यहि प्रकाशले लक्षित समूहलाई सोही प्रबोधन दिन सक्छ ?
फेरी त्यही प्रश्न - परिवर्तन कसका लागि? नयाँ सोच कसका लागि?
(६)
राजनीतिक परिदृश्यमा कसलाई बौद्धिक भन्ने ?
– वाक् पटु व्यक्ति जो जुनसुकै विषयमा, प्रतिभाको बावजूद, ठूठूला शब्द ( जसको अन्तर्य रिक्तता बाहेक केहि हुँदैन ) काे प्रयोग गरेर बोल्न सक्छ ?
– प्रतिभाकोे बावजूद पनि ओंठमा औंला राखेर बसिरहन्छ ?
(७)
केलाई राजनीतिक दर्शनशास्त्र भन्ने ?
– आधारभूत सत्य त यो नैं हो – दर्शनशास्त्रकोे कुनै लक्ष्य हुँदैन। यो त समग्र श्रोततिर फर्किने प्रकृया हो। आफूले आभूषण मानेर बोकेर सघन अन्धकारलाई सचेत प्रयत्नले नियाल्ने काम हो।
– राजनीतिक दर्शनशास्त्र यदि सम्पुर्ण रूपले वैज्ञानिक प्रक्रिया मान्ने हो यसले उपलब्ध गराएका भविष्यका परिकल्पना ( Hypothesis ) मानवीय प्रवृत्तिको अस्थिरतालाई पनि समेट्न सक्ने खालको छ त ?
– यदि आफूले चाहेको व्यवस्था ल्याउने उद्देश्यले लेखिएको खेस्रा हो भने दर्शन शब्दलाई कार्ययोजना शब्दले विस्थापन गर्नु उपयुक्त हुन्छ।
(८)
व्यवस्था परिवर्तनकोे रटान भन्दा सबैभन्दा महत्वपूर्ण पक्ष हुन जान्छ परिवर्तनको स्पष्ट रूपरेखा – के परिवर्तन, कस्तो परिवर्तन, परिवर्तनलाई कसरी देख्न सक्ने, जसरी अधिकार भन्दा महत्वूर्ण हुन्छ अधिकारको उपयोगिताको बोध।
त्यसकारण व्यवस्था परिवर्तनकोे अप्राकृतिक हतारो भन्दा पनि उपलब्ध व्यवस्थाभित्र मानिसको उच्चतम प्रगति केन्द्रमा राखिनु पर्दछ। परिवर्तनकोे नियम अपरिहार्य हाे। समयले आफ्नो उपयुक्त व्यवस्था आफैं चयन गर्नेछ।
– प्रगतिका आयामहरू : भौतिक प्रगति र बाैद्धिक ( र आध्यात्मिक ) प्रगति
असन्तुलन र व्यवधान जुन आधुनिक मानिसले भोगिरहेको छ, त्यसको मूल कारण वौद्धिक प्रगतिको स्थानमा अझै भौतिक प्रगति आरोपित गर्दा उत्पन्न भएको द्वन्द्व हो।
(९)
“ नयाँ ” कार्ययोजना भित्र संस्कृति, जुन समुहलाई बाधीराख्ने केन्द्रीय तत्व हाे, कोे उत्थान पनि पर्ने गर्छ। संस्कृति हृदयङ्गम विना एकोहोरो उद्देश्यपूर्तिको लागी मात्र गरिने कृत्रिम अभ्यासले कसरी उत्थान हुन्छ ? संस्कृतिको वास्तविक अर्थ के हाे ? के यो कुनै व्यक्तिको लक्ष्यकोे लागी प्रयाेग गरिएको हतियार या औपचारिकता मात्र हाे ?
– तिम्रो “ नयाँ ” कोे संस्कृति प्रतिको लगाव के हो – Cultural Appreciation or Cultural Appropriation ?