काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले वर्षाको सम्भावना कायमै रहे पनि काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ। यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीन कुमार अर्यालले अनलाइनखबरसँग कुरा गर्दै भने, 'काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सिस्टम कमजोर भइसकेको छ र ठूलो पानी पर्ने संकट अब टरेको छ।' मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको उनले जानकारी दिए।
अर्यालका अनुसार अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा सक्रिय छ। यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। आज पनि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि त्यो पनि कमजोर हुने उनले बताए।
'आजको हकमा इलामदेखि कोशी प्रदेशको तराईका भूभागमा छिटपुट रुपमा भारी वर्षाको सम्भावना देखिन्छ,' अर्यालले भने, 'तर त्यो पनि दिउँसोबाट मत्थर हुँदै जानेछ।'