काठमाडौं - एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सले लगातार तेस्रो जित निकालेको छ । यो जितसँगै चितवन लिगको शिर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा चितवनले पोखरालाई नौं विकेटले हरायो ।
टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाउन सक्यो ।
पोखराका लागि विवेक यादवले अर्धशतकीय पारि खेल्दा असेला गुणरत्ने २५ तथा रिचार्ड लेभीले २० रनको योगदान गरे ।
पोखराको शुरुवात भने राम्रो रहेन । टिमको स्कोर ४ रन भएका बेला ओपन ऋत गौतम आउट भएका थिए ।
ऋतले ५ बल फेस गर्दा २ रनको योगदान गरे । १० रन भएका बेला खाता नै नओली सुनिल धमला रनआउट भएपछि पोखराको स्कोर २–१० भएको थियो ।
कप्तान विनोद भण्डारीले पनि उत्कृष्ट पारि खेल्न असफल रहेका थिए । भण्डारी १० बल फेस गर्दा ५ रन जोडेर पभेलियन फर्किए ।
यसैगरी लोकेश बम आउट हुँदा पोखराले ४२ रनमा पाँचौं विकेट गुमाएका थिए । बम ८ रन जोडेर आउट हुन पुगे । छैटौं विकेटको रुपमा गुणरत्ने रन आउट हुँदा पोखराले ९८ल रन जोडेको थियो ।
यसैगरी विवेक यादवले अर्धशतकीय पारि खेलेपछि पोखरले चितवनलाई मध्यम लक्ष्य दिन पुग्यो । यावद ४५ बल खेल्दै ३ छक्का र ३ चौकाको मद्दतले ५३ रनमा नटआउट रहे ।
विक्रम सोबले खाता नै खोल्न सकेनन् भने केसरिक विलियम्स २ रनमा नटआउट रहे । चितवनका कमलसिंह ऐरी र सहाव आलमले दुई दुई विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए ।
जवाफमा चितवनले १६ ओभर चार बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
सुरुवात राम्रो गर्न नसकेको चितवनले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर इशान पाण्डेले खाता खोल्न सकेनन् । तर दोस्रो विकेटका लागि मोहम्मद सहजाद र भिम शार्कीले उत्कृष्ट साझेदारी गर्दै टिमको जित दिलाए । दोस्रो विकेटका लागि सहजाद र भिमले शतकीय साझेदारी गरे । उनीहरुले एक सय २१ रनको साझेदारी गरे ।
जसमा सहजादले ३६ बलमा ६ चौका र दुई छक्का सहित अर्धशतक बनाए । उनले कुल ६३ रन बनाए । यस्तै भिम शार्कीले ५४ रनको योगदान गरे । पोखराका बलर सहजाद र भिमको अगाडी संघर्षरत रहे ।
पोखराले ६ जना बलर प्रयोग गर्दापनि थप विकेट लिन सकेन । जारी प्रतियोगितामा चितवनले तीन खेलबाट ६ अंक बनाउँदै शिर्ष स्थानमा उक्लिएको छ भने पोखराले तीन खेलमा तीन अंक बनाएको छ । यो हारले पोखरालाई ठूलो धक्का लागेको छ ।