काठमाडौं - आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुने आइसिसी पुरूष टी-२० विश्वकप छनौटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले शुक्रबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो।
घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दिप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दिप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र लोकेश बम रहेका छन्।
नेपालले विश्वकप छनौटको समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यो समूहबाट शीर्ष दुई स्थानमा रहने टोलीहरू सुपर-६ चरणमा प्रवेश गर्नेछन्। सुपर-६ मा पुगेका ६ टोलीमध्ये शीर्ष तीनमा स्थान बनाउन सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
हालै, नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको छ। दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजलाई पराजित गरेपछि नेपाली टोली उच्च मनोबलका साथ युएईबाट सिधै विश्वकप छनौट खेल्न ओमान प्रस्थान गरेको छ।