काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रम बजार विदेशी नागरिकले कब्जा गरेको बताउनुभएको छ । नेपाली युवाहरू विदेश पलायन हुनुको एउटा प्रमुख कारण यो पनि रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई आज सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले गार्मेन्ट, सुनचाँदी जस्ता व्यवसाय र उद्योगहरूमा बाहिर केही नेपाली देखिए पनि भित्री रूपमा विदेशी नागरिकले कब्जा जमाएको बताउनुभयो ।
"अगाडि केही नेपालीहरू छन्, तर गार्मेन्टभित्र हेर्नुभयो भने अरुले नै बाहुल्यता लिइसकेका छन् । सुनचाँदी व्यवसायमा बङ्गाली मूलका करिब तीन लाख मानिसले रोजगारी पाएका छन्," मन्त्री भण्डारीले प्रश्न गर्नुभयो, "अरू उद्योग र व्यवसायमा पनि नेपालको श्रम बजार अरुले कब्जा गर्ने, अनि हाम्रा युवाले खाडीतिर ताक्नुपर्ने ?"
उहाँले यो स्थितिलाई अन्त्य गर्न सरकारले आवश्यक परे नीतिगत परिवर्तन गरेरै भए पनि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले अहिले सीपमूलक तालिम दिने कार्य 'फेसन' जस्तो बनेको भन्दै त्यसको प्रभावकारितामाथि प्रश्न उठाउनुभयो । काठमाडौं महानगरपालिकाले हालै आयोजना गरेको सीप मेलाको प्रसङ्ग उठाउँदै उहाँले भन्नुभयो, "सीप सिकेपछि त्यसको सर्टिफिकेटलाई मान्यता कसले दिन्छ ? तालिम दिइरहेका छौँ, तर श्रम बजार अर्कैले कब्जा गरिरहेको छ । प्रमाणीकरणको कुनै मान्यता छैन ।"
उहाँले सिटिइभिटी (CTEVT) ले दिने प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्नेमा जोड दिनुभयो । दक्ष जनशक्तिको अभावलाई अन्त्य गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।