×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पुलिसलाई पीएम कपको उपाधी, सुर्य उत्कृष्ट खेलाडी

पुलिसलाई पीएम कपको उपाधी, सुर्य उत्कृष्ट खेलाडी

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । 

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । 

पुलिसका लागि शंकर रानाले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अर्जुन साउदले ३६ रन बनाउँदा अमित श्रेष्ठ २८ तथा आरिफ शेखले २७ रनको योगदान गरे । 

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १८१ रन बनाएको थियो । 

आर्मीका लागि विवेक यादवले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सोमपाल कामीले ३९ रन बनाउँदा इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन जोडे । 

पुलिसका लागि ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिए । त्यस्तै सागर ढकाल, करण केशी र कुशल भुर्तेलले एक–एक विकेट लिए । 
यस्तै  बागमती प्रदेशका खेलाडी सुर्य तामाङ प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

प्रतियोगिताको समापन पश्चात सुर्यलाई उत्कृष्ट खेलाडीको रुपमा घोषणा गरिएको हो । उत्कृष्ट खेलाडीको उपाधि संगै उनले एकथान मोटरसाइकल प्राप्त गरे । 

सुर्यले ९ खेल खेल्दै ३० विकेट लिन सफल भएका थिए । बागमती प्रदेश लिग चरणमा तेस्रो स्थान हासिल गर्दै एलिट कपका लागि छनोट भएको थियो । उत्कृष्ट खेलाडीको उपाधि सँगै सुर्य प्रतियोगिताको उत्कृष्ट बलर समेत घोषित भएका थिए ।

प्रतियोगिताका उत्कृष्ट ब्याटर मदेश प्रदेशका अनिल शाह चुनिए । उनले ९ खेलमा १ शतक र २ अर्धशतक सहित ३८६ रन बनाएका थिए ।

बागमती प्रदेशकै आशुतोष घिराइया उदयमान खेलाडी चुनिए । उनले ९ खेलमा २ अर्धशतक र १ शतक सहित ३८२ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थान हासिल गरेका थिए । 

प्रतिकृया दिनुहोस्