पाल्पा - पाल्पा जिल्लामै इमान्दार नेताकाे रूपमा परिचय बनाएका कृष्ण प्रसाद अधिकारी यसपालीकाे जिल्ला निर्वाचनमा सभापतिकाे प्रबल दाबेदारकाे रूपमा देखीएका छन् । कम्युनिष्टको गढ मानिएको पूर्वी पाल्पामा संगठन निर्माणका लागि निकै खटिएका अधिकारीलाइ सभापतिमा जिताउन कार्यकर्ता निकै कसरत गरिरहेका छन् । अधिकारीले निरन्तर काँग्रेस बचाउन झोला बोकेर गाउँ गाउँ डुलि संगठन निर्माण गर्न निकै ठुलाे भुमिका निभाएका छन् । सरकारी जागिर छाडेर ३५ वर्षअघि पञ्चायतविरुद्धको राजनीतिमा होमिनुभएका अधिकारी काँग्रेसका हरेक आन्दोलन र गतिविधिमा अग्रमोर्चामा देखिने नेता हुनुहुन्छ ।
देशभर काँग्रेसको केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला पाल्पा काँग्रेसमा भने केन्द्रीय नेतृत्वलाईनै दवाव पुग्नेगरि नेतृन्व परिवर्तन हुने सम्भावना निकै बढेकाे छ । पाल्पाका दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचित ५२ महाधिवेशन प्रतिनिधिमध्ये ३ जनामात्रै संस्थापन देउवा पक्षका छन् भने बाँकी इतर समूहका रहेका छन् ।
यसरी केन्द्रीय नेतृत्व परिवर्तन गराउनेगरी जिल्लाको नतिजा आउनुमा मुख्य भूमिका जिल्ला सभापति तथा प्रदेश मन्त्री विर बहादुर रानाको प्रष्टै देखिन्छ उहाँको जुझारुपन, कमाण्डीङ स्वभाव र सक्रियताले नै पाल्पा काँग्रेसलाई संस्थापन इतरबाट बलियो बनाएको हो । उहाँ काँग्रेसको जिल्ला सभापति राजन पन्त भएको बेलामा काँग्रेसको जिल्लास्तरीय राजनीतिमा उदाउनु भएको हो ।
रानाको क्षमता र शैलीका कारण आफुहरुको राजनीति धरापमा पर्ने ठानेर त्यति बेला रानालाई एक्ल्याएर पत्तासाफ पार्न जिल्ला सभापति पन्तलगायतको टिम लागेको थियो । तर मगर समुदायको बाहुल्यता रहेको पाल्पामा मगर समुदायबाटै आएको र क्षमता पनि भएको विर बहादुर रानालाई एक्ल्याउन हुदैँन भन्ने निश्कर्ष निकालेर पन्त समूहकै कृष्णप्रसाद अधिकारीले एकाएक रानालाई साथ दिनुभयो ।
तत्कालिन जिल्ला सचिव समेत रहनुभएका अधिकारीको दवावपछि पन्तले पनि सहयोग गर्न बाध्य हुनुभयो र राना चमत्कारिक तारिकाले काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो । त्यसपछि पाल्पामा काँग्रेसको चहलपहल र संगठन नै बेग्लै भएको छ । त्यसको मुख्य श्रेय अधिकारीको त्यसबेलाको सुझबुझपूर्ण निणर्यलाई दिनुपर्ने यहीँका नेता कार्यकर्ता बताउँछन् ।
त्यति बेला रानलाई सभापति बनाउन निर्णयक भूमिका खेल्नुभएका कृष्णप्रसाद अधिकारी नै अहिले सभापतिका आकांक्षी देखिएका छन् । अहिले अधिकारीले रानाको निर्णयक सहयोगको अपेक्षा गर्नुभएको छ । नेता अधिकारीले रानाको टिमभन्दा बाहिर गएर आफुले कहिल्यै केही नगर्ने अठोट व्यक्त गर्दै राना समुहबाट जिल्ला सभापतिको उम्मेदवार बन्ने कोसिश गर्नुभएको छ ।
राजनीतिमा आफुभन्दा जुनियर भएपनि सभापति भएपछि रानालाई दुवै कार्यकालमा अधिकारीले पूर्ण रुपमा सहयोग गर्दै आउनुभएको थियो । “अहिले पाल्पा काँग्रेसमा देखिएको चहलपहलको पछाडि कृष्ण अधिकारीको महत्वपूर्ण भुमिका छ,” एक नेताले भने, “वास्तवमा उहाँले त्यतिबेला यो लाइन अघि सार्दा उहाँलाई नै एक्लो बनाउने अवस्था आएको थियो । अघिल्लो महाधिवेशन प्रतिनिधिमा उहाँलाई नै हराउने योजना बनेको थियो । तर अहिले त्यही लाइन बलियो भयो । रानाकै नेतृत्वमा रहेको टिमले पाल्पा काँग्रेसमा सुधार ल्यायो ।”
अधिकारी २०६२(६३ को जनआन्दोलनमा पनि पाल्पाबाट पार्टीको निर्णयअनुसार सबैभन्दा पहिला गिरफ्तारी दिने नेता हुनुहुन्छ । “यो काम पनि उहाँले पार्टीको निणर्यअनुसार गर्नुभएको थियो,” ती नेताले भने, “सादा जीवन उच्च विचारका धनी अधिकारीजस्तै नेताले पाल्पा काँग्रेसको अब नेतृत्व लिनुपर्छ ।”
पाल्पा काँग्रेसमा जिल्ला सचिव र उपसभापति हुनुभएका अधिकारी सभापतिका स्वभाविक दावेदार मानिन्छन । व्यक्तिगत योगदान, व्यक्तिगत छवि, बरिष्ठता, सक्रियतालगायतका हरेक हिसावले अधिकारीलाई सभापति बनाउनु न्यायोजित र उपयुक्त हुने पाल्पा काँग्रेसका अधिकांश कार्यकर्ताहरुको भनाई छ ।