काठमाडौँ - बार्सिलोना युइएफ युरोपा लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोना जर्मनी क्लब एनट्राचट फ्र्यांकफर्टसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
फ्र्यांकफर्टले बार्सिलोनामाथि ३-२ गोल अन्तरको जित निकाल्दै समग्रमा ४-३ को अग्रतासहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यस अघि क्वाटरफाइनलको पहिलो लिग १-१ खेलको बराबरीमा सकिएको थियो ।
यस खेलमा फ्र्यांकफर्टका लागि फिलिप कोस्टिकले दुई गोल गरेका थिए भने राफेल माउरीले एक गोल गरेका थिए । बार्सिलोनाले दुवै गोल इन्जुरी टाइममा गरेको थियो । खेलको ९१औ मिनेटमा सर्जियो बस्क्वेटले र खेलको अतिरिक्तसमयको ११औ मिनेटमा मेम्फिस डिपेले पेनाल्टी मार्फत एक गोल गरेका थिए । त्यस्तै यस खेलमा फ्र्यांकफर्टका इभान एन्डिकाले रातो कार्ड पाएका थिए ।
योसँगै अब फ्र्यांकफर्ट सेमिफाइनलमा प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेडसँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा आरबी लेइपजिंग र रेन्जर्स खेल्ने भएका छन् । युरोपा लिगको सेमिफाइनलको पहिलो लिग अप्रिल २८ र दोस्रो लिग मे ५ मा हुनेछ ।