सर्वियन विश्व नम्बर एक नोभाक जोकोभिचले करिअरको १९ औं ग्रान्डसलाम जितेका छन् । उनले फाइनलमा ग्रिसका २२ वर्षीय स्टेफानोस सितसिपासलाई ६-७ (६-८),२-६, ६-३, ६-२, ६-४ ले पराजित गरे ।
जितसँगै ३४ वर्षीय जोकोभिचले टेनिस इतिहासमा सबै चार ग्रान्डसलाम २ पटक जित्ने तेस्रो खेलाडी बने । यसअघि यो कीर्तिमान राय इमरसन र राड लेवरले यो उपलब्धि हासिल गरेका थिए। लेवरले १९६९ मा यो रेकर्ड कायम गरेका थिए ।
जोकोभिचको यो दोस्रो फ्रेन्च ओपन उपाधि हो । यसअघि २०१६ मा पहिलो पटक फ्रेन्च ओपन जितेका थिए । सर्वाधिक धेरै फ्रेन्च ओपन जित्ने कीर्तिमान राफेल नाडालको नाममा रहेको छ । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।
जोकोभिच अब सर्वाधिक ग्रान्डसलाम जित्ने कीर्तिमान बनाएका राफेल नाडाल र रोजर फेडेरर भन्दा १ ग्रान्डसलाम टाढा छन् । फेडेरर र नाडालका नाममा समान २०-२० ग्रान्डसलाम टाइटल रहेको छ ।
जोकोभिच र सितसिपास बिच कडा प्रतिस्पर्धा भएको थियो । ४ घन्टा ११ मिनेट लामो भिडन्तमा जोकोभिचले बाजि मारे । जोकोभिचले करिअरमा दोस्रो पटक २ सेट गुमाएर खेल आफ्नो पक्षमा पारेका हुन् ।