×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदीय छानबिन समिति नबनाइने, सुन तस्करी प्रकरणमा

संसदीय छानबिन समिति नबनाइने, सुन तस्करी प्रकरणमा

काठमाडौं-करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनाइने भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा यस्तो समिति नबनाउने निष्कर्ष प्रस्तुत गरिएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मातहतको निकायले नै छानबिन गर्ने भन्दै छुट्टै समिति नबनाइने बैठकमा जानकारी गराए ।

सरकार मातहत निकायको अनुसन्धान चित्त नबुझे मात्र संसदीय छानबिन समितिको माग गर्नु उचित हुने माओवादी सांसद लेखनाथ दाहालले बताए ।

नेकपा (एमाले)ले सो प्रकरण छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ ।

“अहिले छानबिन समिति केका लागि भन्ने हुन्छ । सरकारका निकाय छन्, जसका काम नै छानबिन गर्ने छ । सीआईबी, अख्तियार, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभाग छन्, तीनलाई नै विश्वास गरौँ । छानबिन समिति टुंगिएपछि प्रतिवेदन चित्त बुझेन, छानबिन प्रक्रिया गहिराइमा पुगेन भने अर्कोे छानबिन समिति माग गर्नु स्वाभाविक हो,” उनले बाह्रखरीसित भने ।

एमालेले छानबिन प्रक्रिया गिजोल्न समितिको माग गरिरहेको उनको आरोप छ ।

“छानबिन समितिको माग गरिरहनुभएको छ, छानबिन प्रक्रियालाई प्रभाव पार्ने र छानबिन नगर्ने, अपराधीसम्म नपुग्ने उद्देश्यले उहाँहरूले यो विषय गिजोल्न खोजेकाले छानबिनको प्रक्रिया सरकारका मातहतका निकायबाट हुन्छन्,” उनले भने, “छुट्टै छानबिन समिति गठन गरिँदैन भन्ने कुरामा प्रस्ट भएका छौँ ।”

बैठकमा संसद्‌मा सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्