न्यूजील्यान्ड- न्यूजील्यान्डमा एउटा परिवारले लिलाममा किनेर घर लगेका सुटकेसमा मानव अवशेष फेला पारेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ । साउथ अकल्यान्डमा बस्ने उक्त परिवारले एउटा स्थानीय गोदामबाट किनेर लगेका सुटकेस घर पुगेर खोल्दा स्तब्ध भएको थियो । हत्यासम्बन्धी अनुसन्धान थाल्दै प्रहरीले ती अवशेष कसका हुन् भन्ने खोजी सुरु गरेको छ । उक्त परिवार सन्दिग्ध हत्यामा संलग्न नभएको ठानिएको छ ।
गत बिहीवार उक्त परिवारले गोदामबाट एक गाडी सामान किनेर लगेको बुझिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गोदाममा बेबारिसे अवस्थामा छोडिएका सामानहरूको लिलाम गरिएको थियो ।
त्यस्तो लिलामीमा क्रेताहरूलाई पहिला नै सामान राम्ररी हेर्न दिइँदैन। मूल्यवान् वस्तु फेला पर्न सक्ने आशामा मानिसहरू त्यस्ता सामान किन्छन् । स्थानीय गुप्तचर अधिकारीले घर ल्याएपछि मात्र सुटकेसमा मानव अवशेष भएको पत्ता लागेको बताएका छन् । स्थानीय सञ्चारमाध्यम स्टफका अनुसार प्रहरी पुग्नुअघि उक्त घर भएको क्षेत्रबाट “दुर्गन्ध“ फैलिएको थियो । शवदाह गृहमा पहिला काम गरेका एक छिमेकीले उक्त गन्ध तत्काल चिन्न सकिएको थियो ।
“मैले सजिलैसँग चिनेँ र त्यो कहाँबाट आइरहेको छ भनेर सोचेँ,“ आफ्नो छिमेकीको घरतर्फ सङ्केत गर्दै उनले भने। अर्की छिमेकी महिलाका अनुसार गाडीबाट एउटा सुटकेस निकालेर उक्त घरबाहिर प्रहरीले टाँगेको पालमा लगिएको उनका छोराले देखेका थिए । स्टफमा प्रकाशित भिडिओमा प्रहरीले छानबिन गर्दै गर्दा उक्त घरअगाडि अवस्थित सडकमा एउटा गाडी बिसाएको देखिन्छ। उक्त स्थान क्लेन्डन पार्कको बाह्य भागमा छ । मृतक को हुन् त्यो पत्ता लगाउनु र त्यसरी अवशेष भेटिने परिस्थिति पत्ता लगाउनु आफ्नो प्राथमिकता भएको प्रहरीले जनाएको छ ।
जसरी ती अवशेषहरू फेला परे त्यसको आधारमा मृतकका आफन्तलाई त्यसबारे सूचना दिन समय लाग्न सक्ने प्रहरीले बताएको छ ।