युरो २०२० को दोस्रो सेमिफाइनलको कुरा थाल्दै गर्दा सन् १९९२ को सम्झना गर्नु जायज हुनेछ । डेनमार्कले आयोजना गरेको नवौं युईएफए युरो च्याम्पियनसिपमा डेनमार्कले सनसनी मच्चाएको थियो ।
८ टिमले भाग लिने प्रतियोगितामा गृहयुद्धलगायत आन्तरिक कारणले युगोस्लाभिया खेल्न अयोग्य घोषित भएपछि खेल्ने मौका पाएको डेनमार्कले उपाधि नै जितेर सबैलाई चकित बनाएको थियो ।
प्रतियोगिताका लागि छनोट नै हुन नसकेको डेनमार्कले युगोस्लाभियाको ठाउँमा खेल्न पाउँदै गर्दा धेरैले उसको उपस्थिति औपचारिकतामै सीमित हुने लख काटेका थिए । तर त्यो प्रतियोगिता डेनमार्कका लागि खेल्न पाउने औपचारिकतामात्र भएन‚ उपाधि नै जितेर सनसनी मच्चाउने अवसर बन्न पुग्यो ।
जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलसम्म आइपुग्दा ठ्याक्कै त्यस्तै त होइन‚ तर केही मिल्दोजस्तो अवस्था बनेको छ । उत्कृष्ट तेस्रो हुने टिममध्येबाट पनि नकआउट चरणमा पुग्ने व्यवस्था नहुँदो हो त डेनमार्कले समूह चरणबाटै घरफीर्तिको टिकट काट्ने थियो । तर यो प्रावधानका कारण अन्तिम १६ मा पुगेको डेनमार्कले त्यसपछिका दुई चरण पार गरेर अन्तिम ४ मा पुगिसकेको छ ।
यसपटक डेनमार्कले दुर्लभ उपलब्धी हात पार्यो, पारिरहेको छ । दुई खेल हारेर पनि नकआउट पुग्ने टिम बन्यो । त्यसैले पनि यसपटक डेनमार्कलाई यस अर्थमा ‘भाग्यमानी’ मानिएको छ । नकआउट चरणमा डेनमार्कले वेल्स र चेक गणतन्त्रलाई स्तब्ध बनाएको थियो ।
र, बुधबार राति मैदानमा उत्रँदै गर्दा सन् १९९२ को त्यही गौरवशाली इतिहास दोहोर्याउने धुनमा डेनमार्क हुनेछ । डेनमार्क त्यसयता ठूला प्रतियोगिताको सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।
यसका लागि उसले इंग्ल्यान्डको तगारो पन्छाउनुपर्नेछ, जुन सहज भने हुनेछैन । बुधबार मध्यराति १२:४५ मा वेम्बली रंगशालामा उत्रँदै गर्दा इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनल पुग्ने ध्याउन्नमा हुनेछ ।
त्यसो त खेल सुरु हुनुअघि वेम्बलीमा केही भावुक क्षण पनि हुनेछन् । इंग्लिस कप्तान ह्यारी केनले १० नम्बर अंकित जर्सी आफ्ना डेनिस समकक्षी सिमोन केयरलाई प्रदान गर्नेछन् । जहाँ इंग्लिस टिमका खेलाडीको हस्ताक्षर हुनेछ ।
१२ जुनमा भएको प्रतियोगिताको पहिलो खेलमा फिनल्यान्डसँग खेल्ने क्रममा एरिक्सन मैदानमै ढलेका थिए ।