भारतमा एक महिलालाई दुई जनाले पटक–पटक बलात्कार गरेको तीन दशकपछाडि बल्ल न्याय मिल्ने आशा बढेको छ – त्यो पनि बलात्कारबाट जन्मिएका उनका छोराको मद्दतले । उत्तर प्रदेश राज्यकी ती महिलालाई १२ वर्षको हुँदा ६ महिनासम्म दुईजना पुरुषले लगातार बलात्कार गरेका थिए । त्यसपछि जन्मिएको उनको छोरालाई अरूलाई नै पाल्न दिइयो । तर १३ वर्षपछि छोरा उनलाई नै फर्काइयो ।
यो घटनाले उनलाई ती आरोपित बलात्कारीविरुद्ध मुद्दा हाल्न प्रोत्साहन मिल्यो । पछिल्ला केही दिनको अन्तरालमा प्रहरीले दुईजना आरोपितलाई पक्राउ गरेको छ । “यो घटना निकै पुरानो भए तापनि यसले बनाएको घाउ निको भएको थिएन” ती महिलाले भनिन् ।
“त्यो घटनाले मेरो जीवन ठप्प बनायो। म त्यो घटना बारम्बार सम्झने गर्छु ।” भारतमा हरेक वर्ष बाल यौन दुर्व्यवहारका हजारौँ मामिला रेकर्ड हुन्छन् । सन् २०२० को आँकडाअनुसार ४७ हजार त्यस्ता मामिला यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने ऐन (पोक्सो) अन्तर्गत दर्ता भएका थिए । अभियानकर्मीहरूका अनुसार वास्तविक सङ्ख्या त अझै धेरै हुनसक्छ । किनभने बालबालिकाले तिनीहरूमाथि भएका दुर्व्यवहार बुझ्न सक्दैनन् अनि बोल्न पनि डराउँछन् ।
‘तिनले मेरो मनमा त्रास उत्पन्न गराए’
भारतीय कानुनअनुसार नाम उल्लेख गर्न नमिल्ने ती बलात्कृत महिलाले सो घटना शाहजहाँपुर शहरमा सन् १९९४ मा भएको बताइन् । आरोपित दाजुभाइ मोहम्मद राजी तथा नकी हसन छिमेकमा बस्थे । जबजब उनी घरमा एक्लै हुन्थिन् तबतब तिनीहरू पर्खालबाट हाम फालेर आउँथे र जबरजस्ती गर्थे । बिस्तारै उनको स्वास्थ्य कमजोर हुँदै गएपछि मात्र उनी गर्भवती भएको थाहा भयो ।
उनलाई डाक्टरकहाँ लगियो । तर उनको कमजोर स्वास्थ्य अवस्था तथा सानो उमेरका कारण गर्भपतन गर्न नमिल्ने डाक्टरले सुझाव दिए । उनले जन्म दिनेबित्तिकै उनको शिशुलाई अरूलाई नै पालनपोषण गर्न दिएर पठाइयो । “जुन शिशुलाई जन्म दिन मैले त्यत्रो सास्ती बेहोरेँ उसको अनुहार पनि मैले हेर्न पाइनँ । मैले आमालाई सोध्दा उनले अब तिमीले जीवनमा दोस्रो मौका पायौ भन्नुभयो ।”
ती महिला र उनको परिवारले त्यतिखेर प्रहरीमा उजुरी पनि गरेन किनभने आरोपितहरूले धम्क्याएका थिए । “घटनाबारे कसैलाई भनेमा तिनले मेरो परिवारलाई मारिदिने र घर जलाइदिने धम्की दिएका थिए” उनले भनिन् ।
“मेरो सपना भनेको ठूलो भएर प्रहरीमा जागिर खाने थियो। तर ती दुई पुरुषका कारण मेरो सपना साकार हुन सकेन। मैले पढ्न सकिनँ ।” ती महिला र उनको परिवार पछि रामपुर जिल्लामा बसाइँ स¥यो । सन् २००० मा उनले बिहे गरिन् र उनको दोस्रो छोरा भयो ।
जीवनमा अब नयाँ अध्याय सुरु गर्ने र विगत बिर्सने उनको आस थियो । तर बिहे भएको ६ वर्षपछि उनको पतिले उनलाई विगतमा बलात्कार गरिएको थाहा पाए र त्यसको दोष उनलाई नै दिए । उनी र उनको बच्चालाई घरबाट निकालियो । उनी आफ्नी दिदीको परिवारको शरण परिन् ।
छोराको साथ
उनको पहिलो छोराले पनि उनको परिचयका कारण थुप्रै विभेद सहनु प¥यो । हुर्कँदै जाँदा छिमेकीहरूले आमाबुवाले तिनलाई केवल पालेको भन्ने सुनाए । आमा–छोरा छुट्टिएको १३ वर्षपछि तिनलाई पाल्ने आमाबुवाले पुरानै आमाकहाँ फर्काइदिए । त्यहाँ पुगेपछि तिनलाई आफ्नो बुवाबारे पनि जान्न मन भयो । किनभने उनको थर थिएन – भारतमा बुवाको थर बच्चालाई दिइन्छ – उनलाई स्कूलमा केटाकेटीहरूले जिस्काउने गर्थे । उनले निरन्तर आमालाई बुवाको परिचय सोधिरहन्थे । जबाफ नआउँदा दिक्क मान्थे । नाम बिनाको जीवन जिउन नसक्ने भन्दै बुवाको नाम नभने आत्महत्या गर्नेसम्म उनले धम्की दिए । अन्ततः आमाले सत्य बताइन् । त्यसपछि त उनको छोरा उनको सबभन्दा ठूलो समर्थक बने । सङ्घर्ष गर्नुपर्ने र आरोपितहरूलाई पाठ पढाउनुर्ने उनले बताए ।
“यदि तपाईँले सत्य बोल्नु भयो भने अरू मानिसहरूले पनि त्यसो गर्ने छन् । त्यसले हाम्रो मुद्दा बलियो हुन्छ र दोषीले सजाय पाउनेछन् । अपराध गरेपछि कोही पनि उम्कन नसकिने सन्देश समाजमा प्रवाह हुनेछ ।”
न्यायको निम्ति लडाइँ
आफ्नो छोराको प्रोत्साहनपछि ती महिला सन् २०२० मा शाहजहाँपुर फर्किइन् । तर मुद्दा दायर गर्न उनले निकै कठिनाइ बेहोरिन् । निकै पुरानो मामिला भएको भन्दै प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन । त्यसपछि उनी वकिलकहाँ पुगिन् । वकिल पनि अघि सरेनन् । उनी हुर्किएको थलोमा निकै परिवर्तन भइसकेको थियो । पुरानो घर ठम्याउन समेत मुस्किल भयो भने आरोपितहरू पनि फेला परेनन् ।
“तीन दशकपहिले तपाईँ कहाँ बस्नुहुन्थ्यो र त्यहाँ नै बलात्कार भएको थियो भनेर कसरी प्रमाणित गर्ने ?” वकिलको प्रश्न थियो ।
“मैले वकिललाई भनेँ, तिमी मुद्दा लड प्रमाण हामी जुटाउँछौँ,” उनले भनिन् ।
वकिलले अदालतमा मुद्दा दर्ता गरे ।
शाहजहाँपुरका मुख्य जुडिसियल मजिस्ट्रेटको आदेशमा दुईजना आरोपितका विरुद्ध सन् २०२१ को मार्चमा एउटा मुद्दा दर्ता भयो । प्रहरीले ती महिलालाई नै आरोपित खोज्न भने ।
“मैले तिनलाई फेला पारेँ र फोनमा कुरा गरेँ” महिलाले भनिन् । “तिनले मेरो आवाज चिने र किन अहिलेसम्म नमरेको भने । मैले भनेँ – अब मर्ने पालो त तिनीहरूको हो ।”
प्रमाण र पक्राउ
आरोपितहरू फेला परे पनि तिनलाई अपराधसँग जोड्ने प्रमाण थिएन। तर फेब्रुअरीमा लिइएको डीएनएको परीक्षणको नतिजा अहिले प्रमाणको रूपमा आएको प्रहरीले बताएको छ । शाहजहाँपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एस आनन्दले बीबीसीलाई भने, “यो निकै अनपेक्षित मुद्दा थियो । जब ती महिला आएर मुद्दा हालिन् हामी एकदम छक्क प¥यौँ। तर हामीले चुनौती स्विका¥यौँ र उनको छोराको डीएनएको नमुना लियौँ ।”
गत एक वर्षदेखि सो मामिला अनुसन्धान गर्दै आएका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, “त्यसपछि हामीले आरोपितहरूको डीएनए पनि जाँच्यौँ । तीमध्ये एकजनाको डीएनए ती छोराको डीएनएसँग मिल्यो ।”
जुलाई ३१ मा एकजना आरोपित पक्राउ परे अनि अघिल्लो बुधवार अर्का आरोपित पनि पक्राउ परे । आरोपितहरूले कुनै टिप्पणी गरेका छैनन् । आफ्नो कथाले अरूलाई पनि अघि सर्न प्रोत्साहन मिल्ने ती महिलाले आशा व्यक्त गरेकी छन् । “मानिसहरू चुपचाप बस्छन्। म पनि चुप बसेँ र यही नै मेरो नियति हो भन्ने ठानेँ । तर त्यस्तो होइन रहेछ। हामी प्रहरीकहाँ जानुपर्छ ताकि अरूले यस्तो भोग्न नपरोस् ।” उनका छोरा पनि आरोपितहरू समातिएकोमा निकै खुसी भएको बताउँछन् ।