×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

आयात निर्यात दुवै घट्यो

आयात निर्यात दुवै घट्यो

काठमाडौं - चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यात दुवै घटेको छ । आयात निर्यात घटेसँगै व्यापार घाटा घटे पनि राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको छ । 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को साउनदेखि असोज मसान्तसम्म आयात निर्यात दुवै घटेको हो । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन केही वस्तुुको आयातमा कडाइ गरेको छ । 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब ९९ करोड ८३ लाख रुपियाँको आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपियाँको आयात भएको थियो । 

अघिल्लो वर्षको साउनदेखि असोजसम्मको निर्यातको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात ३५ दशमलव ७१ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपियाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ । अघिल्लो वर्षको सो अवधिमा ६५ अर्ब ५२ करोड आठ लाख ३४ हजार रुपियाँको निर्यात भएको थियो । 

यो अवधिमा आयात र निर्यातमा कमी आएसँगै व्यापार घाटा १३ प्रतिशतले घटेर तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख नौ हजार रुपियाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपियाँ व्यापार घाटा भएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्