कैलाली - धनगढीको सनराइज होटलमा पुरुष मृत भेटिएको घटनामा प्रहरीले एक युवतीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले होटल सञ्चालकका छोरा समेत रहेका डडेल्धुराको परशुराम नगरपालिकाका २४ वर्षीय धनराज नेगी, होटलमै कार्यरत बैतडीको सुर्नया गाउँपालिकाका पदम कुँवर र धनगढी उपमहानगरपालिका वडा नम्बर १७ की २३ वर्षीया वर्षा नेपालीलाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरु विरुद्ध मृतकका छोरा टेकराज भण्डारीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
बुधबार राति धनगढीको ट्राफिक चौराह नजिकै रहेको सनराइज होटलमा बास बसेका धनगढी उप–महानगरपालिका वडा नम्बर १७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी मृत अवस्थामा फेला परेका थिए।
मृतकका आफन्त आन्दोलित भएका छन्। प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै मृतक तिलक भण्डारीका आफन्तले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका हुन्।
सोही क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका १७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
उनी दुई दिनदेखि होटलमै बसिरहेका थिए। प्रहरीले घटनाको अनुसन्धानका लागि होटलमा कार्यरत एक युवतीलाई गएराति नै नियन्त्रणमा लिएको छ। तर मृतकका आफन्तले आफूहरूको सहमती विपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप लगाएका छन् ।