काठमाडौं - नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा भैंकूवर नाइट्सलाई पराजित गरेको छ ।
लगातार तेस्रो जित दर्ता गर्ने क्रममा टाईगर्सले ६ विकेट हराएको छ । टाईगर्सलाई जित दिलाउन दीपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।
नाईट्सले दिएको १ सय ५० रनको लक्ष्य टाइगर्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
टाइगर्सको जितमा शेफार्न रदरफोर्डले ५३ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा अविजित रहे । दीपेन्द्र २२ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे ।
नाइट्सका लागि फिन एलेनले २ तथा रुबेन ट्रम्पलम्यानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
नाइट्सका लागि ओपनर फखार जमानले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।
पाकिस्तानी आक्रामक ओपनर फखार जमानलाई दीपेन्द्रले १६ औं ओभरको चौथो बलमा कार्लोस ब्रेथवेटबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए ।
दीपेन्द्रले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले १० औं ओभरको दोस्रो बलमा हर्ष थाकेरलाई ९ रनमा रन आउट गरेका थिए ।
बलिङ तर्फ दीपेन्द्रले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेटले २ विकेट लिएका थिए।