×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो ।

उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन् । गाउँका केही घर पहिराले भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । सिङ्गो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताउनुभयो । विद्यालयमा बसेका पहिरो पीडितलाई उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ । उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीले चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री पहिरो पीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सी खनालले बताउनुभयो ।

पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिनुभयो । अर्घाखाँचीमा अविरल वर्षाका कारण खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । पहिरोले अर्घाखाँची जिल्लामा एक सय ११ परिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताउनुभयो । (रासस) 

प्रतिकृया दिनुहोस्