काठमाडौं - ६१ किलो सुन तस्करी प्रकरणकी एक महत्त्वपूर्ण तर फरार पात्र, माओवादी नेतृ अमला रोका अन्ततः पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को विशेष टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेपछि सुन तस्करी र राजनीतिक 'कनेक्सन'को जालो फेरि एकपटक सतहमा आएको छ।
रोकाको पक्राउलाई सामान्य घटनाका रूपमा हेरिएको छैन, किनकि उनी सुनकाण्डका मुख्य अभियुक्त बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् र उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत 'डिफ्युजन नोटिस' जारी गरिएको थियो। ठमेलमा रहेको चर्चित होटेल भियना उनकै नाममा दर्ता छ, जसलाई तस्कर समूहले 'सेफ हाउस'का रूपमा प्रयोग गर्ने गरेको आशंका छ।
को हुन् अमला? कसरी बन्यो ‘पावरफुल’ कनेक्सन?
रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेपछि नै सुन तस्कर दावा छिरिङले माओवादीका शीर्ष नेताहरूसम्म आफ्नो पहुँच बनाएका थिए। यही सम्बन्धको आडमा दावाले सुन तस्करीको साम्राज्य फैलाएको अनुसन्धानले देखाएको छ। यो कनेक्सन कति शक्तिशाली थियो भन्ने कुरा पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग जोडिएको हेलिकप्टर यात्राले पनि पुष्टि गर्छ। रोका, तीन चिनियाँ नागरिक र दिपेश पुन हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको तथ्य बाहिरिएपछि छानबिन समितिले पुनसँग समेत बयान लिएको थियो।
श्रीमान् उम्काउने ‘शक्ति’, श्रीमती पक्राउ
अझ रोचक त के छ भने, २०७६ सालमा चिनियाँ दूतावासले नेपालमा अपराधमा संलग्न आफ्ना नागरिकको सूचीसहित दावा छिरिङको पासपोर्ट नम्बर नै उपलब्ध गराएको थियो। तर, तत्कालीन उपराष्ट्रपति पुन लगायतका उच्च राजनीतिक नेतृत्वसँगको पहुँचका कारण उनी पक्राउबाट उम्किन सफल भएका थिए। त्यतिबेला श्रीमान्लाई उम्काउने त्यही 'शक्ति'ले यसपटक श्रीमतीलाई भने जोगाउन सकेन।
काभ्रेबाट नेपाली नागरिकता समेत लिएका दावा छिरिङ र उनकी पत्नी अमलाको पक्राउले अब सुन तस्करीको पर्दापछाडि रहेका अन्य राजनीतिक पात्रहरूको समेत पर्दाफास हुने अपेक्षा गरिएको छ। २ साउन २०८० मा विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन प्रकरणको अनुसन्धान अब नयाँ र निर्णायक मोडमा पुगेको छ।