काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूहरुले जिते संघीयता कार्यान्वयन गरेर देखाउने बताए ।
नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवार दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने धारणा राखे ।
उनले निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए । उनले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताए ।
‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, काँग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ,’ उनले भने, ‘केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्छौँ । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’
नेता सिंहले नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए । उनले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताए ।
नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताए । उनले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्कँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गरे । उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए ।
‘१२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ । बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’