काठमाडौं- जारि यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३-१ गोलको नतिजामा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामी, युनेस बुढाथोकी सुवास बमले १/१ गोल गरे ।
भारतका लागि दान्नी मेतिले सान्त्वना गोल गरे । खेलको २५औँ मिनेटमा मेतिको गोलमा भारतले अग्रता बनाएको थियो । तर सुरूवाती अग्रता बचाउन नसक्दा नेपालका सरोज दर्लामीले ४५औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएपनि नेपालले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ४९औँ मिनेटमा युनेसको गोलमा नेपालले २-१ को अग्रता बनायो ।
यस्तै, सुवासले ६७औँ मिनेटमा गरेको गोल नेपालको जितका लागि पर्याप्त बन्यो । पहिलो खेलमा नेपालले भुटानलाई २-१ गोलको नतिजामा पराजित गरेको थियो ।