×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

दशैंका लागि खसीबोकाको खरिद मूल्य निर्धारण!

दशैंका लागि खसीबोकाको खरिद मूल्य निर्धारण!

दाङ - दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी १५ रूपैयाँ र बोकाको खरिद मूल्यमा ४५ रूपैयाँले वृद्धि गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य ५६५ रूपैयाँ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० रूपैयाँ निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी ५४५ रूपैयाँ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।

गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको ५५० रूपैयाँ र त्योभन्दा माथिकोलाई प्रतिकेजी ५३५ रूपैयाँका दरले खरिद मूल्य निर्धारण गरिएको थियो । त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी ५५० रूपैयाँका दरले कम्पनीले खरिद गरेको थियो । कम्पनीले गत वर्ष दशैंमा ८०१ वटा खसीबोका काठमाडौं पठाएको थियो । यो वर्षको दशैं तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखितरुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए 

दशैं तिहारका लागि यहाँबाट एक हजार खसी बोेका खरिद गरि काठमाडौं पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उनको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौं पुग्ने गरी पठाउने तयारी भएको छ । लिमिटेडले दशैं, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौंका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्