काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला यो चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन् ।
सोही नगरपालिकाका बासिन्दासमेत रहेका एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप लगाएका छन् ।
उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘बैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खातीमात्रै हार्ने थिए । असार २३ को निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण,आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक कार्की एकसाथ हार्दैछन । शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शीर निहुर्याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु ।'