काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले पारित गरेको निजामति विधेयकमाथि गम्भीर षड्यन्त्र भएको खुलासा भएको छ। समितिका सभापति रामहरि खतिवडाले विधेयकको महत्त्वपूर्ण 'कुलिङ पिरियड'को प्रावधानमाथि ठूलो चलखेल भएको भन्दै तत्काल छानबिन गर्न सभामुख देवराज घिमिरेसँग माग गर्नुभएको छ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सभापति खतिवडाले समितिको निर्णयलाई लत्याएर विधेयकको मूल मर्ममाथि नै प्रहार गरिएको बताउनुभयो। "यो संसदमाथिको प्रहार र अक्षम्य घटना हो। यसमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ," उहाँले भन्नुभयो।
समितिले अवकाशप्राप्त कर्मचारीले दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति खान नपाउने गरी 'कुलिङ पिरियड'को व्यवस्था गरेको थियो। तर, संसदमा पेस हुँदा उक्त व्यवस्थामा तोडमोड गरिएको भन्दै राजनीतिक वृत्तमा समेत आक्रोश बढेको छ। सभापति खतिवडाले राष्ट्रिय सभालाई उक्त त्रुटि सच्याएर विधेयक पारित गर्न पनि आग्रह गर्नुभएको छ।