×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एनएसएल फुटबल : काठमाडौं र पोखराले बराबरी खेले

एनएसएल फुटबल : काठमाडौं र पोखराले बराबरी खेले

काठमाडौं - पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । पहिलो हाफमा पोखराले बलमा पकड जमाएको थियो । तर, पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

काउन्टर अट्याकमा जोड दिएको काठमाडौंले दोस्रो हाफमा पाएको थुप्रै अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको तेस्रो मिनेटमा काठमाडौंका स्टेफेन बियोङले डिबक्सको बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

 

खेलको छैटौं मिनेटमा पोखराका मौसा अब्बाले सुनौलो मौका चुकाए । पेनाल्टी क्षेत्रबाट उनको फितलो प्रहार काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै बचाए । खेलको १५ औं मिनेटमा पोखराका मौसा अब्बाको फ्रिकिक काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए ।

खेलको २३ औं मिनेटमा पोखराले गोल गर्ने अवसर गुमायो । काठमाडौंका गोलकिपर विकेश कुथुको 'मिस पास' मा अनमार्क रहेका नवयुग श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।

लगत्तै रबी पासवानको क्रसमा पोखराका आयुस घलानको डाईभ हेडर पोस्टको माथिबाट गएको थियो । खेलको ५५ औं मिनेटमा आयुस घलानको डिबक्स भित्रबाटको प्रहार बाहिरिएको थियो ।

खेलको ७१ औं मिनेटमा काठमाडौंका मेसौके ओलुमोउको पेनाल्टी क्षेत्रको 'एज' नजिकैबाट प्रहार गरेको फ्रिकिक पोस्टको केहि माथिबाट गएको थियो । लगत्तै ७२ औं मिनेटमा मेसौकेले पेनाल्टी बक्सभित्रबाटको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ८० औं मिनेटमा काठमाडौंका मेसौकेले गोलको अवसर खेर फाले । पोखराका गोलकिपर दीप कार्की बिट भईसकेको अवस्थामा उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

८९ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट मेसौकेको प्रहार पोखराका डिफेन्डर राफेलले क्लियर गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतानले गोल गरेका थिए । तर, अफसाइड पोजिसनमा रहेपछि केचा यान्निकको फ्रिकिकमा उनको हेडर गोलले मान्यता पाएन । खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे । यस बराबरीसँगै पोखराले ३ खेलमा ४ अंक जोडेको छ ।

पोखरा तेस्रो स्थानमा रहेको छ । पोखरा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० ले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० ले हराएको थियो । काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ । काठमाडौं लिगको चौंथो स्थानमा रहेको छ । 

काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १-० ले हराएको थियो । दोस्रो खेलमा काठमाडौं धनगढी एफसीसँग ३-० ले स्तब्ध भएको थियो ।

प्रतिकृया दिनुहोस्