काठमाडौं - नेकपा(एमाले) गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उहाँ प्रथम अधिवेशनबाट अध्यक्ष चयन हुनुभएको हो ।
नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उहाँ यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै हुनुहुन्थ्यो ।
उपाध्यक्षसहित सबै पदाधिकारी पनि उहाँ पक्षीय उम्मेदवार विजयी हुनुभएका उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतले विजयी बन्दा बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय हुनुभयो ।
सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आएको थियो ।
महिला उपसचिवमा मञ्जु अधिकारी ५३१ मतसहित विजयी हुनुभयो। उहाँकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मत ल्याउनुभयो । यस्तै अर्को उपसचिवमा कास्कीका दामबहादुर विक विजयी हुनुभयो । यस्तै उहाँले ५२० मत पाउँदा म्याग्दीका सन्तोष रावलले ३६७ मत ल्याउनुभयो ।