×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकाे हाे भनेर बाेल्न गठबन्धन डरायाे : अध्यक्ष ओली

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकाे हाे भनेर बाेल्न गठबन्धन डरायाे : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरू लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका छन् । 

एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा सोमबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्धनमा रहेका दलहरू पनि नेपालको भूमि आफ्नै हो भनेर भन्न डराएको बताएका हुन् ।

भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमिका बारेमा समेत बोल्ने हिम्मत नदेखाएको उनले बताए । ओलीले शेर बहादुर देउवा र प्रचण्डलाई भारत भ्रमणमा बोलाए पनि माधव नेपाललाई भारतले नबोलाएर छटपटी भएको तर्क गरे ।

अध्यक्ष ओलीले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाप्रति पनि गठबन्धन प्रतिस्पर्धाको राजनीतिक नभएर राजनीतिलाई दुस्मनीको विषय बनाएको धारणा राखे । उनले एमसीसीबारे गठबन्धनमा रहेका दलहरूले दोहोरो चरित्र देखाएको र नागरिकता विधेयकमा पनि राष्ट्रपतिले दिएको सुझाव नमानी जस्ताको तस्तै पास गरेको भन्दै आपत्ति जनाए ।

ओलीले शान्ति प्रक्रिया टुङ्ग्याउने भन्दै पीडितहरूलाई रुवाउने काम गठबन्धन सरकारले गरेको भन्दै जनयुद्ध पीडितको गोली निकाल्ने काम एमालेले गर्ने जिकिर गरे ।

ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने भनिए पनि प्रचण्डले कम्युनिस्ट पार्टीलाई कांग्रेस समक्ष बुझाएको आरोप लगाए । कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरी लगायतका अन्य दलका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्