काठमाडौँ- वैशाख ३० गते अर्थात् मतदानको दिन पानी पर्नसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको ‘असानी’ चक्रवातको प्रभाव नेपालमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले बताएको हो ।
महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै छाता लिएर मतदान केन्द्र जान भनेको छ । बंगालको खाडीमा बनिरहेको असामी चक्रवात र स्थानीय वायुको संयुक्त प्रभावले त्यसदिन हल्का र मध्यम वर्षा हुने प्रक्षेपण गरिएको महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए । ‘मतदान केन्द्रमा सुविधा नहुन पनि सक्छ । मतदान केन्द्रमा जाँदा मतदाताले छाता लिएर जानु भयो भने राम्रो हुन्छ,’ उनले भने ।
‘असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने उनको भनाई छ । ‘यसले पहाडी भूभागहरुमा अलि धेरै असर पार्ने देखिन्छ’, मौसमविद् भट्टराईले भने, ‘तराई मधेशका जिल्लामा अग्ला पहाडहरु नभएकाले पहाडी भूभागको तुलनामा कम असर पर्छ ।’
उनकाअनुसार पानी पर्ने सम्भावना भएकाले मतपेटिका कसरी सुरक्षित राख्ने मुख्य कुरा हो । ‘पानी पर्न सक्ने सम्भावना रहेकाले मतपेटिकाको संरक्षण गर्न जरुरी देखिन्छ,’ उनले अगाडि भने, ‘मतपेटिका संरक्षण गरिएन भने मिहिनेत खेर जान्छ । त्यसका लागि सोही अनुरुपको तयारी गर्नुपर्छ ।’
चुनावको अघिल्लो दिन तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसदिन प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।