विराटनगर - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए ।
आजको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । ९३ सदस्यीय प्रदेशसभमा बहुमतका लागि ४५ मत आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन छ ।
आज नै नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी छ । माओवादी केन्द्रबाट आज दुई जना मन्त्री सरकारमा सहभागि हुनेछन् ।
माओवादी केन्द्रले तीन जनालाई पठाउने तयारी गरेको थियो । तर मन्त्रीको नाम छनोट गर्ने विषयमा विवाद भएपछि दुई जनालाई मात्रै पठाउन लागेको हो । नेताहरुका अनुसार जीवन आचार्य र दुर्गा चापागाईं मन्त्री बन्ने स्रोतले बतायो ।