काठमाडौं- प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै कानुन मन्त्री शर्माले बेपत्ता पारिएको व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुबै आयोगको पदाधिकारीहरुको पदावधि समाप्त हुन लागेकाले शान्ति प्रक्रियाका काम बाँकी रहन गएको बताउन ।
उनले सङ्क्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन विधेयक आवश्यक रहेको उल्लेख गरे । मन्त्री शर्माले नेपालको अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निर्देशनात्मक आदेशलगायतको आधारमा विधेयक तयार पारिएको बताए ।
प्रतिनिधिसभाको आगामी बैठक भदौ १३ गते सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।