काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले असंलग्न परारष्ट्र नीतिले मात्र नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा हुने बताएकी छन् ।
ललितपुरको जावलाखेलमा नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा जोड दिएकी हुन् ।
‘हामीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौं’, राष्ट्रपति भण्डारीले भनिन्, ‘किनभने यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने हाम्रो विश्वास रहेको छ।’
भण्डारीले विश्वमा आणविक हतियारको होडबाजी रोकिनु पर्ने बताउँदै राष्ट्रपति भण्डारीले नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने र राष्ट्रहरूका बिचमा नै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने मान्यता राख्ने बताइन् ।