काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएको छ। क्यान्सरबाट पीडित श्रेष्ठको पार्थिव शरीर भोलि बिहान ८ देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
स्याङ्जाबाट पटक-पटक सांसद बनेका श्रेष्ठले उपप्रधानमन्त्रीका साथै भौतिक पूर्वाधार, शिक्षा, उद्योग र वन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। २०१७ सालदेखि राजनीतिमा सक्रिय उनले २०३६ को जनमतसंग्रह, २०४६ र २०६२/६३ को जनआन्दोलन तथा शान्ति प्रक्रियामा अग्रणी भूमिका निर्वाह गरेका थिए।