काठमाडौँ । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालीका कार्यकारी अध्यक्ष गोपाल गुरागाईँलाई प्रदान गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा यही चैत्र १७ गते दिउँसो साँढे १२ बजे आयोजना हुने विशेष समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान गर्नुहुनेछ ।
त्यस्तै, यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिने भएको छ ।
यसैगरी, यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ । विगत साँढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पण्डितलाई दिइने पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ । यसैगरि कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
त्यस्तै, यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ । यी तीन पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुराग, सर्वाेत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला र प्राईम टाईम्स टेलिभिजनका उपसम्पादक दिपक अर्याललाई प्रदान गरिने भएको छ । सवै पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।