काठमाडौं - डिजिटल वालेट ई-सेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै बैंकले यस्तो सेवा सुरु भएको जानकारी दिएको हो ।
यससँगै अब ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन् । त्यस्तै, मासिक रूपमा ५० पटकसम्म बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिने छ ।
यसअघि ईसेवा वालेटको रकम एभरेस्ट बैंकबाट निकाल्न मिल्ने सुविधा थियो ।
एनआईसी एसिया बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाको पैसा ?
- सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् ।
- त्यसपछि होमपेजमा रहेको 'एटीएम विथड्र' (ATM Withdraw) को अप्सन छान्नुहोस् ।
- अनि एनआईसी एसिया बैंकको नाम छान्नुहोस् ।
- यति गरेपछि आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् (तर, ५०० को गुणन सङ्ख्या मात्र राख्न पाइन्छ । एक पटकमा पाँच हजारभन्दा बढी रकम निकाल्न मिल्दैन ) ।
- यति गरेपछि 'पर्पोजमा गई किन निकाल्न लागेको भन्ने अप्सन छान्नुहोस् ।
- अनि रिमार्क लेखेर प्रोसिडको बटनमा ट्याप गर्नुहोस् ।
- यसपछि कन्फर्म (Confirm)को बटनमा ट्याप गर्नुहोस् । र, आफ्नो पीन नम्बर राखेर पुनः कन्फर्म (Confirm) को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको डिभाइसमा एउटा ओटीपी कोड आउँछ ।
- एनआईसी एसिया बैंकको एटीएम बुथमा जानुहोस्
- बैंकको एटीएमममा गइसकेपछि 'कार्डलेस ट्रान्जेक्सनको अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।
- र, एसएमएसमा आएको ओटीपी कोड राखी कन्फर्म गर्नुहोस् ।
यति गरेपछि तपाईंको ईसेवामा रहेको रकम एनआईसी एसिया बैंकको एटीएम मेसिनबाट निकाल्न सकिन्छ ।