काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने बताएका छन्। उनले बाइसिएललाई बलियो बनाउँदै पार्टीलाई मद्दत गर्न पनि आग्रह गरेका छन्।
योङ्ग कम्युनिस्ट लिगको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो अवसरलाई हामीले सदुपयोग गर्नुछ। पार्टी निर्माण, वाइसिएललाई अझ बलियो बनाउन, जनताको विकासका आकाङ्क्षालाई सम्बोधन गरेर त्यसलाई सदुपयोग गर्नुछ । सुशासन दिने र भ्रष्टाचार अन्त्य गरेर आर्थिक समृद्धिको यात्रा अगाडि बढाउनु छ।’
आफूले प्रतिनिधि सभामा मङ्गलवार सम्बोधनका क्रममा बताएका विषय बस्तुलाई कार्यान्वयन गर्न सके नयाँ इतिहास र नयाँ युग सुरु हुने पनि उनले बताए। उनले प्रतिक्रियावादीका धेरै घेराबन्दी चिरेर यहाँसम्म आइएको बताएका थिए। उनले वाइसिएललाई पार्टी र सरकारले सहयोग गर्ने पनि बताए।