काठमाडौं- नेकपा एमालेको किल्ला रहेको उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले विजयी भएको छ। एमालेका भागवत राउत २ हजार ८६ मतान्तरले पराजित गर्दै कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका हुन्।
भर्खरै सम्पन्न मत गणना अनुसार बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाए। यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे। २०५३ सालमा नगरपालिका बनेको त्रियुगामा कांग्रेस पहिलोपटक निर्वाचित भएको हो।
यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो। २०७४ को निर्वाचनमा पनि उमेदवार बलदेव चौधरीसँग बस्नेत ७२ मतान्तरले पराजित भएका थिए। ०७४ मा उपमेयर जितेको कांग्रेसले यसपटक भने गुमाएको छ। उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएकी छिन्।
उनले कांग्रेसकी सरिता राईलाई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेकी हुन्। महेश्वरीले १३ हजार ७ सय ३ मत पाउँदा सरिता राईले ११ हजार ९ सय ८१ मत मात्र ल्याइन्। यस्तै नेकपा माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५ सय ६८ मत ल्याइन्। त्रियुगामा कांग्रेस र एमालेले एक्लै प्रतिस्पर्धामा थिए भने माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो। कांग्रेसले ९, एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ।