काठमाडौँ- कमल थापाले औपचारिक रूपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दैछन् । प्रजातन्त्र दिवसको दिन पारेर उनले आज आफ्नै अध्यक्षतामा राप्रपा नेपाल घोषणा गर्न लागेका हुन् ।
पार्टी घोषणाअघि थापाले आफूले विगतमा साथ दिएका नेता-कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँच वर्षको अलमलपछि आफ्नो पुरानो घर राप्रपा नेपाल फर्किएको बताएका छन् ।
राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ । यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु । विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’
लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालको थापा अध्यक्ष बनेका हुन् । लाक्पाले थापालाई अध्यक्ष स्विकारेर पार्टी कमल थापाको जिम्मा लगाएका हुन् । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराएका थिए ।