काठमाडौं - कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित मन्दिरमा चढाएको घण्टी चोरी गरी किनबेच गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुद्धोधन गाउँपालिका–२ नौडिहवास्थित दुर्गा मन्दिरबाट असोज २६ गते राति घण्टी चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक भाँडा पसलबाट साना-ठुला गरी ३५ थान पित्तलका घण्टी बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार चोरीमा संलग्न शुद्धोधन–१ बगदीका १८ वर्षीय इबरार अहमद मुसलमान र शुद्धोधन–२ भुसुडीका २५ वर्षीय चन्द्रप्रसाद यादवलाई पक्राउ गरिएको छ। आरोपी इबरारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। अनुसन्धानका क्रममा चोरीका घण्टी शुद्धोधन–३ लवनीस्थित 'ऋषि भाँडा पसल' मा बिक्री गरेको खुलेपछि पसल सञ्चालक दिनेशकुमार कान्दुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य एक जना भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।