काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रास्वपाले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
‘उम्मेदवारका ५ जना आकांक्षीले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने, ‘मिलन लिम्बू रास्वपाबाट उम्मेदवार बन्नु भएको छ।’
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।