काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक-पटक गलत निर्णय गर्दै जाने स्थितिले आजको परिणाम निम्तिएको बताएका छन् । मंगलबार राति समाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता नेपालले यस्तो बताएका हुन् ।
सरकार र पदको दुरुपयोग गर्दै जाने कार्यले पार्टी, देश र जनतालाई सही गन्तव्यमा नपुर्याउन उनको दाबी छ । ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो,’ उनी भन्छन्, ‘तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् ।’
एकताबद्ध पार्टी र आन्दोलन बनाउन लाग्नका लागि उनले आग्रह गरेका छन् । राष्ट्रको गरिमा ऊँचो राख्न संविधान, गणतन्त्र र जनताको हितको रक्षा गर्न सबै वामपन्थी ,लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने भनाइ उनको छ । ‘मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं’ उनले आह्वान गरेका छन् ।