काठमाडौँ - काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बसहरू पुनः सञ्चालन हुन थालेका छन्। हालै जेनजी आन्दोलनका कारण सरकारले लगाएको निषेधाज्ञा र कर्फ्युपश्चात बन्द रहेका सार्वजनिक सवारीसाधनहरू शुक्रबारदेखि बिस्तारै चल्न थालेका हुन्।
लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लका अनुसार, शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्मको अवधिमा दर्जनौँ सार्वजनिक सवारीसाधनहरू उपत्यकाबाट बाहिरिएका छन्।
यसअघि यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा सवारीसाधन नचलाउन आफ्ना मातहतका संघसंस्थाहरूलाई निर्देशन दिएको थियो।
हालसम्म सञ्चालनमा आएका सवारीसाधनहरू भने व्यवसायीहरूले आफैँखुसी चलाएका हुन्। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा सवारीसाधनलाई संस्थागत रूपमा कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिएका छन्।